Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

अपराध लुकाउने राजनीतिक गुफा

15.6.11

सानो छदा एउटा उखान खुब पढिन्थ्यो - तरवार भन्दा कलम बलियो । यसै बिषयमा मास्टरले स्कुलमा वादविवाद प्रतियोगिता पनि आयोजना गर्थे । कलमका पक्षमा भा नभा' तर्कहरु राखेर बोल्थे वक्ताहरु, खुब प्रेरणादायी लाग्थे । कहिले त गोजीमा कलम बोकेर हिड्दा पेस्तोल बोक्नेलाई पनि जितिन्छ कि जस्तो पनि लाग्थ्यो ।


आज तरवार बलियो भएको उदाहारण देख्दा देख्दा वाक्क लाग्न थालेको छ । त्यसमाथि कार्यवाही गर्नु पर्ने वर्गबाटै तरवारको पक्षपोषण र संरक्षण हुदै आएको छ ।

मोरङका संचारकर्मी खिलनाथ ढकाल माथि गरिएको निर्घात आक्रमणका योजनाकार पशुराम अनेकन अपराधिक घटनाका नाइके भएको पुष्टि हुदा हुदै पनि लुग लुग कापेर बसेको छ नामर्द प्रशासन । किटानी जाहेरी दिँदा समेत पत्रकारमाथि आक्रमण गराउने नाइकेमाथि केरकार /कारवाही गर्नु त के राजनीतिक शक्तिको अगाडी थुरथुर हुदै भाग्ने काँतर छ प्रशासन । यस्तो हुतिहारा संयन्त्र भएको देशमा जनताको जिउ धनको सुरक्षाको कसरी कल्पना गर्नु ?

पशुरामको भाला, तरवार, छुरी र मरणासन्न कुटाइ खाएर मुश्किलले उसको आक्रमणबाट बाँचेकाहरु मोरंगका संचारकर्मी र राजनीतिक दलको बिरोध कार्यक्रममा शामिल भै रहेका छन र धर्ना दिई रहेका छन । तर उसलाई छानविन नै गर्न नदिई निर्दोस छ भन्दै राजनीतिक संरक्षणमा लुकाएर औला उठाउदै छन युवा संघ नेपालका अध्यक्ष महेश बस्नेत ।


बुढापाकाहरुले त्यसै भनेका हैन रहेछन 'जो चोर उसैको ठूलो स्वर' । पत्रकारिताको धर्म निभाउनेहरु कुटिएका कुटियै छन, कुट्नेलाई संरक्षण दिएर/घरभित्र लुकाएर पत्रकारिता माथि नै औंला उठाईरहेछन युवा नेताहरु ...। हुन् सक्छ आरोपित दोषी नहोला तर राजनीतिक संरक्षण दिई कानुन र प्रशासनको खिल्ली उडाउदै चुनौती दिदै हिड्नु कति जायज हो ? उल्टो ठूलो ठूलो हुंकार गर्दै औला तेर्स्याउदै हिड्नु कानुनी राज्यको उपहास मात्र होइन राजनीतिक शक्ति र धम्कीको भरमा यो देशाँ जे गर्न पनि सकिन्छ भन्ने मानसिकता हो ।

कलमकारहरूमाथि आक्रमण भइरहेका छन, कलमहरू भाचिइ रहेका छन ।

एउटा हिन्दी सिनेमा गोलमाल तेश्रो भागमा अजय देवगनले एउटा क्यारेक्टर निभाएका छन, जसले आफु बिरुद्ध चोरी औला उठेको देख्नै सक्दैन । त्यसरी नै पत्रकार कुट्ने, लुकाउने, धम्कि दिदै हिडने र उल्टो मिडियाका सामु चोरी औला उठाउन पल्केको नेपाली राजनीति प्रवृत्तिको जरा उखेल्ने र औला भाच्ने गरी बलियो कानुनी राज्यको निर्माण कहिले होला यो देशमा ?
sorry for putting hindi clip for illustration
Read more >>

लाज पचेका नेपाली ब्लगरहरु

8.6.11




मलाइ काम पनि नभाका र फुर्सद पनि नभाका बहुलाहा कुकुरले टोके झैं इन्टरनेटमा भौतारिदै हिड्ने केही मान्छेहरु देखि निकै दया लागेर आएको छ । ती मान्छे अरु कोही नभएर केही नेपाली ब्लगरहरु हुन् ।जो अरुका रचना सोध्दै नसोधी स्वाट्ट चोरेर आफ्नो नौटंकी ब्लग सजाउने कार्यको कुलतमा फसेका छन। यस्ता बानी लागेका ती ब्लगरहरु कतिलाइ त म के गरिरहेको छु भन्ने पनि थाहा नहुन पनि सक्छ । बिचरा भन्नु पर्ने खालका अनभिज्ञ ब्लगरलाइ त खास के नै भन्ने र ? तैपनि काँल्दाईले भनेको मान्नु हुन्छ र बाटो बिराउनु भएको हो भने "यसो नगर्नुस यो राम्रो कार्य पनि होइन र राम्रो बानी पनि हैन" अझै सुध्रने मौका छ सुध्रिनुस भन्न चाहन्छु । तर बुझीबुझी पनि बुझ पचाउने र अरुको सम्पति झिकेर ल मैले त तपाइको फलानो जिनिस खुब मन पर्यो लगे है भनेर चोरे जस्तो अरुको रचना सोध्दै नसोधी खुरुक्क कपि पेष्ट गर्दै आफ्नो ब्लगमा राख्दै गर्ने कार्य नकचरोपन र हास्यापद हो भन्न चाहन्छु, यो श्रष्टाको रचनामाथि गरिएको अवमुल्यन पनि हो ।

कतिपयले त नामै समेत पनि नखुलाई वा आफ्नै नाममा राख्ने पनि गरेका छन भने कतिले चाहि ल मैले तपाइको रचना निकै मन पर्यो र यी यसमा राखें भन्दै आफु चोर नभई सज्जन भएको जिकिर पनि गर्छन, त्यो पनि राखेको २/४ दिनपछि । अब यस्तो बेला श्रष्टा आपतमा फस्छ, नराख्नुस भन्न पनि अलि नमिल्ने, चुपचाप बस्छन के गरुन बिचरा ? फेसबुकमा पनि आफ्नो वालमा सोध्दै नसोधी अरुका रचना पोष्ट गर्ने लाज पचेकाहरु नभाका हैनन, तर ब्लगरमा यस्ताको बिगबिगी अलि धेरै नै भएको छ ।

ए राता मकै, के गरौँ र कसो गरौँ लागेर अरुको रचना खोज्दै भौतारिनुको सट्टा त्यस्तो समयमा त सकेपनि नसके पनि आफै लेख्न कोशिश गर्नु, फुर्सदको सदुपयोग गर्नु । ल ठिकै छ, कसै कसैका रचना अति नै मन परे र आफ्नो रचनामाथि पटक्कै आत्मविश्वास छैन भने महिनामा एकाध 'पाहुना' बोलाउदा पनि भयो । तर यहाँ त दिनदिनै र दिन दहाडै अरुका रचना चोर्ने र ब्लगमा मनपरी राख्ने काम धमाधम हुन थालेको देखि रहेको छु । यसले ब्लगलाइ व्यक्तिगत भावना व्यक्त गर्ने थलो हो भन्ने मूल मर्म माथि घात मात्र गरेको छैन नेपाली ब्लग जगत नै फोहोर बनाउदै छन । त्यसमाथि धेरै लेखकहरु यो कपि पेष्टको चलनले निकै महा अन्यायमा परेका छन, कसलाई भन्ने ? कहाँ उजुरी गर्ने ?

एकदिन सबै सचेत ब्लगरले कोको यस्ता कुलतमा फसेका छन रंगेहात पक्राउ गर्नेछ, अनि मुख रातो पार्नु पर्ला । मागेर, ढाटेर, छलेर अरुको भरमा बाच्नु भन्दा आफै गरी खान बाबुबाजेले पक्कै सिकाका होलान । सिर्जनशील बन्नुस आफै लेख्न थाल्नुहोस ।

त्यसो त सामुहिक ब्लग पनि नहुने हैन, जस्तो कि साझा ब्लग 'दौतरी" । यस्तै गर्न खोजेको हो भने यसले जस्तै ब्लग पोष्ट गर्ने अधिकार अरु ब्लगरलाइ पनि दिन पर्यो । ती ब्लगरले आफै पोष्ट गरुन । तर अरुका रचना चोर्दै आफैले राख्दै गर्नु लाजमर्दो हो, काम छैन भन्दैमा चोरको बात लाग्ने काम पनि गर्नु हुन्छ र ?

तस्विर -wine-blog.com
Read more >>

थुइक्क पाजी हो !

24.5.11

मैले त भनि रहेकै थिएँ नि, अब नेपालाँ संघिय गणराज्य साज्य त्यस्तै हो, साम्प्रदायिक हिंसाको टुसो भने मजैले पलाईसक्यो भनेर । खस्, बाहुन, लिम्बु, तामांग, अब जातजाति र भाइभाइमा विभाजनको साँध लाग्न थालिसक्या छ । देशको साँधचाहि लथालिंग भएर ढल्ने क्रममा छ, आफू आफू वैरी हुने साँधचाहि ढल्दो हैन उभिदो छ।

एकै थालमा खाएर- एउटै टोलका केटी जिस्काएर हिडेका मात्र नभई, एउटै भट्टीमा जाँड धोकेर एउटै ढलमा जोतिएर धेरै रात कटाएका साथीभाई समेत बाटोमा हिड्दा ए मुला त्यो त कचिलाको रैछ, यो मुला ताम्सालिंग पट्टिको रैछ भन्दै नदेखेझैं गर्ने दिन अब टाढा नहोला जस्तो छ । अहिले नै देख्दा पाखुरी सुर्क्याउदै मनमनै 'बल्ल तेरो असली रुप चिनियो भन्दै कि नारी निमोठ्ने कि डामेर छोडेको गोरुझैं आँखाले हेर्ने क्रमको शुरु भैसक्यो ।


यो हप्ता छेत्रीले काठमाण्डुमा आफ्नो शक्ति देखायो, त्यसैमध्येको यौटा भुसतिघ्रेले आफ्नो बाहुन साथीलाई भन्यो - हाम्ले त बन्द गरेर देखाइम, थुक्क हुतिहारा काँतर बाहुन हो तिमेर्ले खोइ सक्या ?

नेपालको इतिहासमा काजी भएका आफ्ना पुर्खाको नाम बेचेर गाउघरतिर कुनै जमानामा आफुलाई पनि उनकै सन्तान र काजी भनाउदै आएका कुँवर, बस्नेत, पाण्डे तथा थापा थरिका छेत्रीहरुलाइ अलिपर पुग्ने बित्तिकै "पाजी" भनेर व्यंग्य गर्नेहरु धेरै हुन्थे ।

एकादेशको कथाजस्तो वर्ण व्यवस्थामा गरिएको जाति र पेशाको भागबण्डालाई सम्झेर अहिले बाहुनले आफुलाई विद्वान् ठान्नु, छेत्रीले बहादुर र वैश्यले सधै व्यापारी सोच्नु र गर्व गर्नु जस्तो मुर्खता अरु कुन हुन् सक्ला यो वैज्ञानिक युगमा ? हुन् त् म कुनै जातिको पक्षपाती हैन, वद्ख्वाई पनि गर्दिन । तर जातिपातिका पक्षपाति ए पाजीहरु ! यो जमानामा आएर पनि जाति र जन्मको आधारमै आफ्नो पहिचान र परिचय खोज्दै हिड्छौ भने धिक्कार छ तिमेरुलाई !

हैन गाँठे, थेप्चो नाक भाकाले अलि बढी सुबिधा पाउने, चुचो नाक भाका अलि चुप लाग्न पर्ने, पकौडा जस्तो नाक भाकाले आरक्षण पाउन पर्ने, घिरौला जस्तो भाकालाइ बेवास्ता गर्न पर्ने, खोया जस्तो नाकेहरुको कुरा सुन्नै नहुने, तेरो जाति भन्दा मेरो जाति असल, मेरो भन्दा त त्यसको खत्तम जात .... हैन यो कस्तो माग हो ? हामी सबै उस्तै नेपाली एकै जाति हैन र ?

संचारले लेख्यो छेत्रीसंग वार्ता भो ./ बन्द फिर्ता भो ।
साम्प्रादायिक हिंसा भद्काउन तम्सेका गुन्दागर्दिलाई सम्बोधन गरेर र उसका जातीय हितमा लेखेका मागहरु सुनेर यो निकम्मा सरकारले अरु बाकि भएका सबै जातजातिलाइ पनि आफ्नो शक्ति देखाउन उक्साएको छ । बेफ्वाँकमा त्यसरी नै जनतालाई दुख दिन अब कुन कुन जातिले दाउ हेरेर बसेका छन ? अलेली शक्ति पनि नदेखाए नत्र के था भोली बन्ने संविधानमा अरु जातिले धेरै सुबिधा पाई आफू हेरेको हेरै पो हुने हो कि ?





ल हेर, कसको नाक राम्रो, कसको जात राम्रो ?
flickr
Read more >>

नेटनेपाललाइ त तिनले 'चटके' पो भने गाँठे ?

21.5.11

केही समय पहिले देखि फेसबुक कै लोकप्रियताको सिको गरेर त्यस्तै प्रकृतिको नेपाली सोसल नेटवर्किंग साइट नेट्नेपाल इन्टरनेटमा लाउन्च भयो । काम नभा'का बेरोजगारीका साथै भए पनि हाकिमका आँखा छलेर चौबिसै घण्टा इन्टरनेटमा झुन्डिने कुलतमा फसेका नेपालीहरुलाइ टाइम न बेटाइम चाड आइ हाल्यो । यता पनि प्रोफाइल भटाभट बन्न थाल्यो । लौ, त्यसका विकासकर्ता करुण थापाले 'राम्रो काम गर्यौ भनेर चौबिसै घण्टा झुन्डिन उक्साउने गरी पोइन्ट पनि पो दिन थाले, अनि त के थियो ? लेख रचना पस्कने, साथीभाईसंग परिचय बढाउने भन्दा पनि 'पोइन्ट' बढाउने धुनमा प्रयोगकर्ताहरु व्यस्त हुन् थाले ।

ठुला बडा कै सिको गरेर झटारोले पनि एउटा खाता खोल्यो है । हुन त मलाइ नेपालीको नेटवर्किंग साइट नेपालीमेटले पनि फेसबुकले जस्तो मुहनी लाउन सक्या थेन , यो पनि त्यस्तै रैछ । तर उहिलेदेखि म एउटो गानाको साह्रै ठूलो फ्यान भा छु - फूलको आँखामा फूलै संसार, आनीले त्यत्तिकै गाकी हैनन् बाबै यो गीत । आँखा राम्रो हुन् पर्छ जे नि राम्रै देखिन्छ । नेटनेपाललाइ कर्के नजरले हेर्नेलाई त्यसो भन्न मन लाग्या छ मलाइ । हुन त यो शनिशचरे झटारोको आफ्नै आँखा कांडाको छ अरुलाई के दोष दिनु र ?

मन नपरेको कुरा प्याच्च लेख्न मन लाग्यो मलाइ । यो मुला लेखकको जात साह्रै खत्तम हुनी रैछ । जे मनमा आयो त्यो लेख्ने, आफुलाई मै हुँ भन्ने पत्रकार र लेखकको त झन् कुरै नगरम । यिनले त के मात्र जान्या हुदैनन्, स्वामीका अगाडी सधै ज्यु र हजुर गर्न सिपालु हुन्छन । खुरापाती गर्न अनेक थरि घुमाउरा र काइते भाषाको आविस्कार गरेका हुन्छन यिनेर्ले । एकदिन नेपाल पत्रिकाका बाया फन्को भन्नी स्तम्भ लेख्ने स्तम्भकार ब्रजेश खनाल नेटनेपालमा आए । उनको शैलीको तारिफ गर्छु म, फिलिमका स्क्रिप्ट लेख्न देखि बोल्नमा पनि उनी माहिर छन । उनको ब्लग यी यहाँ छ -http://brazesh.wordpress.com/ आउने बित्तिकै पहिलो कुरो उनले लेखे ।

"करुण दाइ यो के चटक हो हँ ?"

झटारोलाई चाहि उनको यो 'चटक' भन्नी शव्द साह्रै नराम्रो लाग्यो । कि राम्रा कुरा लेख्दा लेख्दा उनका शब्दमा खडेरी पर्यो ? हुन त उनले जिस्केका होलान। तर साचिकै चटक सम्झनेहरु पनि यता होलान जस्तो लाग्या छ मलाइ । हाइ फाइब र फेसबुकका जस्ता साथीभाई, आफन्त जोड्ने संजालहरुका संचालकलाई चाहि देउता झैं मान्ने अनि नेपालीले केही गर्यो भने चाहि हेयभाव राखेर चटके भन्ने ?

साथीभाई भेटम, रमाइलो गरम, केही शेयर गरम, टाइम पास गरम । नराम्रो के छ ? के छ यसमा गल्ती ? बेकारी भएर कुलतमा फस्नुभन्दा ,बरालिएर चोक चोकमा तरुनी जिस्काउदै बस्नु भन्दा त बरु कम्प्युटरमा आएर यस्तो एक दुइ घण्टा साथीभाइलाई हाइ हेल्लो गर्छन, सके सिर्जनाका दुइ चार कुरा नि बाड्चन । मलाइ त लाग्छ, अहिले नेपालाँ आइटी पढेका केटाकेटी भोली अरबीको पसलमा हिसाब किताब गर्न नजाउन भन्नको लागि पनि हामीले यस्ता नया, खोजमुलक र क्रियटिभ नेपाली विकास्कर्तालाई हौसला दिन पर्छ । नेपालीले नै गरेको यस्तो कार्यलाइ हामीले सके सह्राना गर्नपर्छ, नसके थुतुनोमा बुजो लाएर बसे भै हाल्यो ? फुटेको आँखाले नि हेर्न नसके खुरुक्क बन्द गर्नु अनि जानु खैरेनीको पुतली हेर्न पोर्न साइटतिर, बेकाराँ के को टेन्सन लिनु ?


एउटा चटके कार्यक्रम तयार गर्दै
Read more >>

अब बाहुनको पालो ?

20.5.11

नेतागिरी गर्नेहरु र नेताका झोलागिरी गर्नेहरु सबै मिलिजुली "हो हो, साच्चै अब त अति नै भयो, नेपाल बन्द गर्दैनम, इँटा र ढुंगा हान्दैनम, रेलिंग भाच्दैनम, टायर बाल्दैनम शान्तिपूर्वक बाच्न पाउने नागरिकको इच्छालाई कदर गर्छम" भन्दै कसम खाएको धेरै भएको थिएन । हुन पनि बाडी चुडी खान गणतन्त्रको भाडो पाइहालेका थिए तर नेपालीको खप्परमा त्यस्तो तोडफोड बिनाको भाग्य कहाँ लेखिएको रैछ र ?

आदिवासी जनजातिले देश बन्द गरेको केही दिन नबित्दै हामी चैँ के कम भन्दै पश्चिमका बाहुन पनि तम्सी हाले । जातीयताको आधारमा देश संघियतामा जान नहुने देखि हाम्लाई नि आदिवासी भनिपाउन पर्ने, बिपन्नलाई मात्र आरक्षण दिन पर्ने, राज्यले भेदभावको नीति खारेज गरेर हाम्लाई पहिलेजस्तै मान्न पर्ने, भेटी उठाई खाने ठामको संरक्षण र प्रबर्द्धन गर्नु पर्ने आदि आदि तिनेरुका माग हुन ।

(हेर हेर यिनले कुटुम्ला झैं यति लामो लौरो जस्तो झन्डा बोकेकी ?)

ए म्या'टोक्ने! देशमा त अब फेरि यही संघियताकै नाममा जाति जाति भाइभाइहरु बिचमै काटाकाट हुने भो नि ।


यी मुलाहरु जातपात भन्नी कुरा आखिर केही'नि हैन भन्ने थाहा पाउदा पाउदै किन यस्तो उम्लेका हुन .. धन्य नया नेपालीहरु! हामी सबै नेपाल आमाका सन्तान हौँ, एउटै दाजुभाई हौँ, एकै जाति नेपाली हौँ भन्ने कुरा पनि बुझन हो बुझ !
Read more >>

घाटी र चाक काट्ने व्यापारी

18.5.11




अचम्म मान्नु पर्दैन । कुरा नेपालका ग्यास बिक्रेताको हो ।

ट्वाल्ल परेका आँखा र फुट्न लागेका बम जस्ता गालाधारी एकजना मान्छेको तस्विर राखेर समाचारले छापे यी यही हो ग्यास बमको नाइके । तर बुझ्दै जादा धेरै यस्ता गिरोहहरु सक्रिय रहेछन जो उपभोक्तालाई ग्यासको सिलिन्डर हैन, कुन बेला पड्कने हो थाहै नहुने गरि ग्यास बम पो बेचिरहेका रहेछन ।

सुनसरीको खनारमा धादिंग स्थित सुगम ग्यासका शिवप्रसाद घिमिरेले १५ हजार ३ सय १४ थान चोरीका सिलिन्डर पिँध र घाँटी काटेर तयारी अवस्थामा राखेका थिए । सुरक्षा का दृष्टिले अत्यन्त संवेदनशील यस्ता सिलिन्डर पक्राउ परेको यतिका दिन बितिसक्दा पनि कार्यवाही गर्ने कुरा भने एक पाइला अघि सर्न नसकेको देख्दा उदेक लागेर आएको छ मलाइ । हैन नेपालमा सधै किन यस्तो दण्डहिनता ? अझ माउवादिको शरणमा हार गुहार गर्दै पुगेका छन रे । हेरम न के हुदो रैछ ।

सिलिन्डरमा अर्को कम्पनीको लोगो छापिएका भाग घाटी र चाक काटेर आफ्नो कम्पनिको लोगो राखी बेच्ने यस्ता काला बजारीलाई अब के गर्ने होला ?

जनताको जिउधन्माथि खेलवाड गर्ने यस्ता व्यापारीलाई के गरेर कारवाही गर्ने त भनेर सरकार अन्योलमा परेको हो भने, दवाव पर्ने बित्तिकै पड्कन सक्ने प्रकृतिका, पिध काटेर सुगम ग्यास लेखिएका सिलिन्डरहरुसंगै उनलाई पनि बिचमा राखेर पाइलै पिछे खाल्डा खुल्ड़ी भएको दुर्गम गाउतिर पठाउने राय दिन चाहन्छु ।
Read more >>

चरी भरर

16.5.11

समाचारमा कुख्यात अपराधी 'चरी' नाम गरेका डन धादिङमा टेन्डरको क्रममा व्यवसायीबाट जबर्जस्ती पैसा असुलेर फर्कदा नागढुंगाबाट फर्कदा धारिलो तरवार सहित पक्राउ परेको समाचार आयो । फिरौती पैसा र हतियार सहित रेडह्याण्ड समातिएका अपराधिक संगठनका नाइके चरीलाइ अब त्यसको पखेटा काटेर जेलको पिजडामा थुन्न पर्ने इच्छा सबैले व्यक्त गरे ।

तर नेपालका ट्वाके कम्पनीका पानिमरुवा प्रहरीहरु त्यसबेला हेरेको हेर्यै भए जब सरकारका प्रभावशाली नेताहरु आएर आफै चरीलाई भुर्र भुर्र उडाई दिए । धादिन्ग्का राजेन्द्र पाण्डे देखि के पी शर्मा ओलीले अनेक दवाव र जालझेल गरि आखिर 'चरी' नामको गुण्डालाई आठ दिन पनि नबित्दै उडाई छाडे । फेरी अपराधको आकाशमा 'चरी' पखेटा फिजाएर उड्यो ।

चरीको रिहाइ सम्बन्धी खबर सुन्न भेला भएका सञ्चारकर्मीमाझ एआइजी अर्जुनजङ्ग शाही धेरै बोलेनन् - तर मलाइ लाग्यो उनी मनमनै मनोज श्रेष्ठको यो गीत गाइ रहेका छन -
चरी भरर, डाडैमा बसेर रुम्की धरर ...




नेताको नाता हेर्नुस त !
(nagariknews.com)
Read more >>

गज़पको संविधान बन्ला जस्तो छ ।

10.5.11

गाउँ गाउँ कुना काप्चाका प्रत्येक नेपालीको भावना समेटेर नया नेपालको संविधान निर्माण गर्न भनि ६०५ जना 'विद्वान'हरुलाई जिताएर नेपाली जनताले अब चाहि केहि हुन्छ है भन्दै पर्खेर बसेको धेरै भैसको । ती विद्वानहरु मध्ये कतिपय विद्वानहरु भर्खर भर्खर अंग्रेजीमा 'आइ लभ यु' भन्न र लभ-लेट्टर लेख्न ट्रेनिंग लिदै गरेको हुँदा अझै केही ढिला हुन् सक्ने सम्भावना देखिएको छ र म्याद फेरी थपिएको छ । 'झर्ला र खाम्ला भन्ने' धोको पालेका नेपालीहरुलाइ के थाहा छैन भने त्यो संविधानको किताब लेखिदैमा तिनले पाउने र आमुल परिवर्तनै भैहाल्ने चाहि खास केही पनि हैन । त्यो नेताको कमाइ खाने निहुँ मात्र हो भन्ने कुरा गोप्य सुत्रबाट पत्ता लागेको छ ।

जनताको रगत पसिनाको कमाईबाट कुम्लायिने महिनाको पचास हजार तलबले नपुगेर यी सभाषद नामका बुद्धिजिवीहरु अब रातो पासपोर्ट बेच्ने गोरखधन्दा पनि शामिल भएका कुरा भर्खर संचारले छापेको छ । सभाषद द्वय नेपाली जनता दलकी गायत्री साह र मधेसी जनअधिकार फोरमका बिपी यादवले कुटनीतिक प्रयोजनका लागि उपलब्ध राहदानी जनही एक करोड पचास हजारमा बेचेका हुन ।

नीति निर्माण गर्ने राष्ट्रको गरिमामय स्थानमा बसेका यस्ता भ्रष्टहरुलाई हेरेर अनुमान लागौं त्यति गाह्रो नहोला,कि नेपाली जनतालाई यिनले कस्तो संविधान देलान ?



यिनै हुन पासपोर्ट बेचुवा सभाषद
Read more >>